काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले संसदको अवरोध हटाउनका लागि सभामुख अग्निप्रसाद सापकोटालाई दुई विकल्प दिएको छ- पार्टीले कारबाही गरेका १४ सांसदलाई कारबाही गरेको सूचना निकाल्नुस् या सभामुख पदबाट राजीनामा दिनुस् ।
सभामुख अग्निप्रसाद सापकोटाले आज बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्दै एमालेले संसदको गतिरोध फुकाउन यस्तो विकल्प प्रस्तुत गरेको हो ।
एमालेले लगातार संसदमा नाराबाजी गरेपछि सभामुखले सोमबार दिउँसो संसदमा भएका दलहरुको बैठक बोलाएका छन् । त्यसअघि एमाले प्रमुख सचेतक विशाल भट्टराईले सभामुखलाई फोन गरी क-कसलाई बोलाइएको छ भनेर चासो व्यक्त गर्नुभएको थियो । सभामुखले संसदमा भएका सबै दलका शीर्ष नेताहरुलाई बोलाइएको जानकारी दिए ।
फोनमा प्रमुख सचेतक भट्टराईले भने माधवकुमार नेपालहरूलाई बोलाएको बैठकमा आफूहरू नआउने जानकारी गराउनुभयो । ‘एमाले र उहाँको विवाद हो, दुनियाँलाई बोलाएर के निकास निस्कन्छ र ?’ उहाँले सभामुखलाई भन्नुभयो ।
सभामुख सापकोटाले भने १४ सांसदबारे कानूनअनुसार निर्णय गरेको र संसद चलाउनुपर्नेमा जोड दिएका छन् । एमालेले १ भदौमा माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गर्दै सभामुखलाई सूचना दिएको थियो ।
२ भदौमा माधव नेपालको नयाँ पार्टी दर्ता भयो, जसले ९ भदौमा मान्यता पायो । त्यसपछि बल्ल सभामुखले एमालेको पत्रबारे निर्णय गर्दै केही गर्नुनपर्ने बताएका थिए । यसलाई लिएर एमालेले आफ्नो दल फुटाउने षड्यन्त्रमा सभामुखसमेत प्रत्यक्ष संलग्न भएको जिकिर गर्दै आएको छ । त्यसलाई लिएर एमालेले २३ भदौमा शुरु भएको संसद अधिवेशनमा नाराबाजी गर्दै आएको छ ।