काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गर्नुभएको तीन रिटमध्ये दुईवटाको सुनुवाइ सर्वोच्च अदालतले आज गर्ने भएको छ । ओलीले निर्वाचन आयोग, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती, प्रदेश सभा सदस्यहरूलगायतलाई विपक्षी बनाउँदै १७ भदौमा सर्वोच्च अदालतमा तीनवटा छुट्टाछुट्टै रिट निवेदन दर्ता गर्नुभएको थियो ।
सर्वोच्चले एउटा रिटमाथि अन्तरिम आदेश दिन नसकिने जनाइएको थियो भने अन्य दुई रिटमाथि दुवै पक्षलाई बोलाई छलफलपछि अन्तरिम आदेश दिने वा नदिने विषयमा निर्णय गर्ने आदेश भएको थियो । एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादी दर्ता बदर हुनुपर्ने मागसहित दायर गर्नुभएको रिटमाथि छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । साथै लुम्बिनी प्रदेश सभाका दुई सदस्य विमला वली र अजय शाहीलाई पदमुक्त गरिनुपर्ने माग पनि अध्यक्ष ओलीले गर्नुभएको छ । यी दुवै विषयमाथि अन्तरिम आदेश दिने वा नदिने विषयमा सर्वोच्चले आज निर्णय गर्ने जनाइएको छ ।