काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको गतिरोध अन्त्य गर्न शीर्ष नेताहरुलाई आज छलफलका लागि बोलाउनुभएको छ ।

प्रमुख विपक्षी दल नेकपा एमालेले आफूले कारबाही गरेका १४ सांसद संसदमा उपस्थित भएको भन्दै लगातार संसद् अवरोध गरेपछि सभामुख सापकोटाले संसदमा भएका प्रमुख दलका शीर्ष नेतालाई आज दिउँसो साढे २ बजे छलफलमा बोलाएको उहाँका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताउनुभयो ।

एमालेले आफूले गरेको १४ सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा लगातार संसद अवरोध गर्दै आएको छ । सभामुख सापकोटाले आइतबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईलगायतसँग छलफल गर्नुभएको थियो । छलफलमा सहमति जुट्न नसकेपछि हिजोको बैठकमा पनि एमालेले अवरोध गरेको थियो ।

पार्टी विभाजित नहुँदै भदौ १ गते नेकपा एमालेले १४ सांसदलाई निष्कासनको कारबाही गरेको सूचना संसद सचिवालयमा दिएको थियो । उक्त सूचनालाई सभामुख अग्निप्रसाद सापकोटाले गैरजिम्मेवार ढंगले मान्यता नदिएर पार्टी फुटाउन सहयोग गरेको एमालेको आरोप छ ।