काठमाडौं । नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा टुंगिएको छ । नेपाली राष्ट्रिय महिला फुटबल टोली र बंगलादेशी महिला टोलीले गोलरहित बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ सम्पन्न खेलमा पटक–पटकका मौका सदुपयोग गर्न नसक्दा दुवै टोली गोलरहित बराबरीमा रोकिएका हुन् । यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल २–१ ले विजयी भएको थियो ।
नवौं मिनेटमा अमृता जैसीको भली प्रहारलाई बंगलादेशकी गोलरक्षक रुप्ना चक्माले दोस्रो प्रयासमा नियन्त्रणमा लिनुभएपछि नेपालले अग्रता लिन पाएन । २०औं मिनेटमा रश्मीकुमारी घिसिङको पासमा सरु लिम्बूले पेनाल्टी बक्स नजिकैबाट गरेको प्रहार विपक्षी खेलाडीले क्लियर गर्दै बचाउनुभयो ।
६७औं मिनेटमा बंगलादेशकी कप्तान सविना खातुनको फ्रिकिकलाई नेपाली गोलरक्षक अञ्जना रानामगरले नियन्त्रणमा लिँदै खतरा टार्नुभयो । यो नतिजासँगै हालसम्म खेलेका आठ खेलमा नेपालले ६ जित र दुई बराबरी खेलेको छ ।
फरवार्ड रजनी थोकरले सिनियर राष्ट्रिय टोलीमा डेब्यु गर्नुभएको थियो । बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा प्रीति राईको स्थान लिँदै रजनीले डेब्यु गर्नुभएको थियो । रौतहटबाट खेल्दै आउनुभएकी उहाँले ८८औं मिनेटमा प्रीति राईको स्थान लिनुभएको हो । यसअघि प्रशिक्षक ग्यारी फिलिप्सले पहिलो मैत्रीपूर्ण खेलमा चार खेलाडीलाई डेब्यु दिनुभएको थियो ।
उज्वेकिस्तानमा आयोजना हुने एएफसी कप २०२२ छनोटअघि नेपाल र बंगलादेशले मैत्रीपूर्ण खेल खेलेका हुन् । नेपाली महिला टोलीले सन् २०२२ मा भारतमा हुने एसियन कपको छनोटका लागि उज्वेकिस्तानमा १८ सेप्टेम्बरमा फिलिपिन्स र २१ सेप्टेम्बरमा हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।