वुटवल । एक हप्ता अघि मृत अवस्थामा भेटिएकी सीता भण्डारीको मृत्यु शंकास्पद रहेको भन्दै छानविन गरी दोषी माथि कारबाहीको माग गर्दै मृृतकका आफन्तले आइतवार रुपन्देहीको तिलोत्तमाको मणिग्राम चोकमा प्रदर्शन गरेका छन् ।
स्थानीय सरकारले समेत न्याय दिनुको साटो घटनालाई लुकाउन खोजेको आरोप लगाउँदै मृतकका माइती पक्षले प्रदर्शन गरेका हुन् ।
तिलोत्तमा नगरपालिकाका मेयर, उपमेयर, सदस्यहरु कसैले पनि घटनाको छानबिनका लागी सहयोग नगरेको भन्दै सिता भण्डारीका माइती पक्षले सडकमा आउन बाध्य भएको जनाएको छ ।
तिलोत्तमा–८ मणिग्राम ४ नम्बरमा २ बर्षअघि टीका पौड्यालसँग बिबाह गरेकी सीता भण्डारी आफ्नै घरमा मृत भेटिएकी थिइन् ।
तीजसमेत मानेर घर फर्किने गरि भदौ ६ गते माइतीमा आएकी सीतालाई श्रीमान टीकाले भदौ १९ गते दिउँसो घरमा भतिजको बर्थडे छ ‘तिमी घर जाउ म पनि साँझ घर आउँछु’ भनेर पाल्पाबाट फोन गरे । उनी घर फर्किइन् । माइतीले उनी घरबाट हिँडेदेखि राति ९ बजेसम्म माइतीले फोन गरिरहे तर उनको फोन उठ्दै उठेन । अर्को दिन एक्कासी अर्को माइतीलाई काम छ भनेर टीकाको घरबाट बोलाइयो । माइतीजन त्यहाँ पुग्दा मुहार रक्ताम्मे अवस्थामा सीताको मृत्यु भइसकेको थियो ।
सीता आफ्नै घरको कोठामा मुखबाट रगत बगेको, गलामा चुङ्गीले कसिएको र भुँईमा लडेको अवस्थामा भदौ २० गते विहान मृत फेला परेको बताउँदै सीताका बाबु हरिप्रसाद भण्डारीले छोरीको हत्या योजनाबद्ध रुपमा भएको दावी गर्दै न्यायको खोजी गरेका छन् ।
शवको प्रकृति र घटनाक्रम हेर्दा आत्महत्या हुन नसक्ने छिमेकीहरुको दावी छ ।