काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिस्ट आन्दोलनबारे बहस गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
आइतबार काठमाडौंमा परशुराम तामाङद्वारा लिखित ‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा’ नाम पुस्तक विमोचन गर्दै दाहालले अहिले बैचारिक खडेरी परेकाले सबैले कम्युनिस्ट आन्दोलनबारे बहस गर्नुपर्ने बताउनुभएको हो । अध्यक्ष दाहालले अहिलेको परिस्थितिमा आएको आवश्यकताको नाममा माक्र्सवादलाई गलत दिशातर्फ लैजान खोजिएको पनि बताउनुभयो । उहाँले पेरुका कम्युनिस्ट नेता गोन्जालोको रिहाइका लागि माओवादीले पनि अभियान चलाएको धारणा पनि राख्नुभयो । दाहालले माओवादी आन्दोलनबाट धेरै उपलव्धी प्राप्त भएको भन्दै कसलै यसलाई अपमूल्यन गर्न नसक्ने दावी गर्नुभयो । उहाँले नेपालको कम्युनिष्ट एकता एउटा प्रयोग भएको तर्क गर्नुभयो ।
दाहालले अबका एक/दुई बर्ष पछि आफू एक्लो पो हुने होकी भन्ने पीर लाग्न थालेको पनि बताउनु भएको छ । ‘एकचरण विभाजित भएर हेरियो लछार पटार केही लागेन त्यसकारण फेरी एक ठाउँमा आउँ त्यही वैज्ञानिक हुन्छ’, दाहालको भनाई थियो ।
‘‘माओवादी पार्टी पटक पटक विभाजित भयो, नेकपा पनि विभाजित भयो, विभाजित भएकाहरु नै हामी उफ्रिरहेका छौ ।’ दाहालको भनाई थियो –“विभाजनबाट कोही पनि अछुतो रहन नसकेनन् ।’
माओवादीले ओली नेतृत्वको एमालेसंग एकता गरेको र अहिले पार्टी बिभाजन हुँदा ज्ञान प्राप्त गरेको उहाँले बताउनुभयो ।
त्यस्तै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालको कम्युनिस्ट पार्टीहरु विदेशीसामु लम्पसार पर्ने गरेको बताउनुभयो । कम्युनिस्ट पार्टीहरूमा गुटवादी र अहंकारको प्रवृत्ति देखिसकेपछि यसलाई चिर्न र जुध्न कम्युनिस्ट पार्टीहरुले सही र क्रान्तिकारी सर्वहारा संस्कृतिको विकास गर्नुपर्ने उहाले बताउनुभयो ।
त्यस्तै कार्यक्रमका सहभागीहरुले कम्युनिस्ट आन्दोलनलाई सशक्त ढंगले अघि बढाउनुपर्ने बताएका थिए । माओवादी नेतासमेत रहनुभएका परशुराम तामाङको पुस्तक जागरण बुक्स हाउसले बजारमा ल्याएको हो ।