काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल फुटाउन सभामुखको ‘षड्यन्त्रपूर्ण संलग्नता’ भएकाले संसदको अवरोध कायम राख्ने बताउनुभएको छ । उहाँले सभामुख सापकोटा सभामुखको कुर्सीमा बस्न लायक नभएको बताउनुभयो ।
उहाँले पार्टीले तोकेका नाराहरु मात्र लगाउन र संसदीय मर्यादामा बसेर विरोध गर्न सांसदहरुलाई निर्देशन दिनुभयो ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा एमालेले संसद अवरोध गर्दागर्दै जबर्जस्ती सभामुखले प्रतिस्थापन विधेयक पेश गर्न अनुमति दिएपछि एमाले सांसदहरुले रोष्टममा चढ्ने प्रयास गरेका थिए भने गृहमन्त्रीको माइक खोसेका थिए ।
बैठकमा अध्यक्ष ओलीले संसदीय मर्यादाभित्र बसेर मात्र विरोध गर्न सांसदहरुलाई निर्देशन दिनुभयो । वेलमा जाने र तोकिएको नारा मात्र लगाउने पार्टीको निर्धारित कार्यक्रम रहेको भन्दै उहाँले भने, ‘म माननीयजीहरुलाई आग्रह गर्न चाहन्छु, संसदीय मर्यादाभित्र तोकिएका नाराहरु छन् । त्योभन्दा फाल्तु नारा हामी लगाउँदैनौं ।’
उहाँले भन्नुभयो- ‘हामी वेलमा जान्छौं । नारा लगाउँछौं । सामान्य अवस्था आयो भने विस्तारै नारा लगाउने, अलिकति बढी एग्रेसिभ भएर सभामुख वा सत्तापक्ष आउँदा चर्को आवाजमा लगाउने हुनसक्छ । तर हामीले नारा लगाउने र वेलमा जाने भन्दा बाहिर जानुहुँदैन ।’