काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछि पहिलोपटक आज प्रतिनिधिसभाको बैठक बस्न लागेको हो ।
शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधबीच सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो । संघीय संसद सचिवालयका अनुसार दिउँसो १ बजेका लागि संसद् बैठक बोलाइएको छ । पछिल्लो समय एमालेले सदन निरन्तर अवरोध गरिरहेको छ । सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर एमालेले विरोध गरिरहेको छ । त्यसैले आजको बैठक पनि एमालेले अवरुद्ध गर्ने सम्भावना रहेको छ ।
एमाले फुटाउन सभामुखले भूमिका खेलेकाले एमालेले सदन अवरुद्ध गरिरहेको हो । एमाले फुटेर माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) गठन भइसकेको छ ।