काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवं सांसद गोकुलप्रसाद बास्कोटाले प्रतिपक्षीसँग छलफल नगरी सभामुख अग्निप्रसाद सापकोटा गुरिल्ला शैलीमा अघि बढ्दाको परिणाम राम्रो नहुने चेतावनी दिनुभएको छ । शुक्रबार बसेको संसद बैठकमा एमालेको अवरोधबीच प्रतिस्थापन विधेयकसहित प्रस्तुत भएकपछि बास्कोटाले यस्तो बताउनुभएको हो ।
सभामुखले संसद चलाउने बारेमा कार्य व्यवस्था परामर्श समितिमा पनि छलफल नगरेको उहाँले बताउनुभयो । “सभामुखले कार्य व्यवस्था परामर्श समितिमा एजेन्डा पनि दिएनन्,” उहाँले भन्नुभयो- सभामुखले यही शैलीमा कति दिन संसद चलाउनेहुन् । प्रतिपक्षीसँग छलफल नगरी अघि बढ्दाको परिणाम राम्रो हुने छैन ।
“सभामुखले निर्वाह गर्नुपर्ने न्यूनतम् भूमिका निर्वाह गरेनन्,” उहाँले भन्नुभयो- सभामुख सापकोटा गुरिल्ला र छापामार स्टाइलले अगाडि बढेका छन् । अब यिनले अब घण्टाघर पनि भत्काउँछन्।
बास्कोटाले अब सापकोटालाई सभामुख मान्न नसकिने पनि बताए। “सापकोटालाई अब हामीले सभामुख मान्न सक्दैनौँ । सभामुखको कुर्सी अग्निप्रसाद सापकोटाको होइन,” उहाँले भन्नुभयो- त्यो कुर्सीमा बस्दा सबैलाई समान व्यवहार गर्नुपर्छ ।