काठमाडौं । सत्तागठबन्धन दल एमसिसीबारे साझा धारणाा बनाउन असफल भएका छन् । एमसीसीबारे साझा धारण बनाउन आज बसेको गठबन्धनको बैठक असफल बन्दै बिनानिश्कर्ष सकिएको छ ।
आज बिहान मन्त्रिपरिषद् विस्तार र एमसीसी पारित गर्ने नगर्ने भन्नेबारे साझा धारणा बनाउन प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बसे पनि बिनानिष्कर्ष सकिएको छ । साथै बैठकले खासै निर्णय गर्न नसकेपछि बेलुका ६ बजे फेरि बस्ने गरी स्थगित भएको बालुवाटार स्रोतले जनाएको छ ।
सो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए ।
बैठकमा केही दोस्रो वरियताका नेताहरुको समेत सहभागिता रहेको छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गर्ने वा नगर्ने भन्ने विषयमा साझा धारणा बनाउन शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।
बिहीबार बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठक बिनानिष्कर्ष टुंगिएको थियो । एमसिसी पारित गर्ने वा नगर्ने विषयमा वहस भइरहेका बेला पछिल्लो अवस्था बुझ्न वासिङ्टन डीसीबाट एमसिसी उपाध्यक्ष फातिमा सुमार बिहीबार बिहान काठमाडौँ आउनुभएको छ । उपाध्यक्ष सुमारले शुक्रबार अपरान्ह प्रधानमन्त्री देउवासँग भेट गर्ने कार्यतालिका रहेको छ ।