काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा विहीबार घरेलु मैदानमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेपछि शुरु हुनेछ । नेपाली महिला टोलीले फिफाको मान्यता प्राप्त खेल पहिलोपटक दशरथ रंगशालामा खेल्न लागेको हो ।
एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दोस्रो मैत्रीपूर्ण आइतबार हुनेछ ।
आजको खेलबाट नेपाली राष्ट्रिय महिला फुटबल टिममा विदेशी प्रशिक्षकको समेत डेब्यु हुनेछ। नेपाली टिम पहिलो पटक विदेशी प्रशिक्षक ग्यारी फिलिप्सको प्रशिक्षणमा खेल्नेछ । एएफसी महिला एसियन कप-२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुनेछ ।
छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ।उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्नेछ।
नेपाल र फिलिपिन्सबीचको खेल सेप्टेम्बर १८ (असोज २) मा हुनेछ। यस्तै, नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ। उक्त खेल सेप्टेम्बर २१ (असोज ५) मा हुनेछ ।
यस समूहको फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर २४ (असोज ८) मा हुनेछ। समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ। एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।
बंगलादेशविरुद्ध खेल नेपालका लागि इतिहास हेर्ने हो भने अवसरभन्दा दबाब बढी हुने देखिन्छ । सावित्राको अनुपस्थितिले यसैपनि मानसिक रुपमा केहि दबाबमा रहेको टोलीसामु बंगलादेशविरुद्ध जित हासिल गर्नुपर्ने छ ।
सिनियर अन्तर्राष्ट्रिय फुटबलमा नेपालले अहिलेसम्म बंगलादेशसँग हार बेहोरेको छैन । हालसम्म खेलेका ६ खेलमा नेपालले ५ जित र १ बराबरी खेलेको छ । पछिल्ला खेलमा बंगलादेशले आफ्नो प्रदर्शन भने निकै सुधार गरेको छ ।