काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो पार्टी टुक्र्याउन सभामुख अग्निप्रसाद सापकोटा प्रयोग भएको आरोप लगाएको छ ।
बुधबार प्रतिनिधिसभाको बैठकमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमालेले कारबाही गरेका सांसदलाई बचाउन सभामुखले भूमिका खेलेको बताउनुभयो ।
उहाँले भन्नुभयो- ‘नेकपा एमालेले कारबाही गरेका सांसदलाई बचाउन र नेकपा एमाले टुक्र्याउन किन मतियार बन्नुभयो भन्ने प्रश्न सम्मानित संसदमा हामी जोडदार रुपमा उठाउन चाहन्छौं ।’ उहाँले एमाले फुटाउन संविधान, कानुन, नियम, विधि सारा विषय उल्लंघन गरिएको बताउनुभयो ।
एमालेले सभामुख सापकोटा एमाले फुटाउन मतियार बनेको भन्दै आजको प्रतिनिधिसभा बैठक अवरोध गर्दै नाराबाजी गरेको छ । आफूले कारबाही गरेका सांसदलाई सभामुखले समयमै पदमुक्त नगरेको भन्दै प्रश्न उठाएको एमालेका सांसदहरुले नाराबाजी गरेका हुन् ।
एमालेको निरन्तरको नारावाजी र अवरोधका कारण संसद्को नवौं अधिवेशनअन्तर्गत पहिलो बैठक १५ मिनटका लागि स्थगित भएको छ । एमाले सांसदहरू नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।