काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे तत्काल कुनै धारणा बनाउन हतार नभएको जनाएको छ ।
संसदीय दलको बुधबार बसेको बैठकमा सांसदहरुले एमसीसीबारे पार्टीको धारणा मागेका थिए । जनताले ‘नो एमसीसी’ भनेको भन्दै धेरै सांसदले त्यसविपरीत जान नहुने बताएका थिए ।
सोको जवाफमा एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले यसबारे धारणा बनाउन हतार नभएको बताउनुभयो । एमसीसीबारे बुद्धिजिवी र दलहरुको मत पनि सुन्ने र डकुमेन्टहरु पनि अध्ययन गर्ने भन्दै उहाँले भन्नुभयो, ‘पास गर्ने जिम्मा पनि हाम्रो होइन, सम्झौता हामीले गरेको पनि होइन । प्रस्ताव आयो भने गम्भीरतापूर्वक छलफल गर्छौं र धारणा बनाउँछौं ।’ देश र जनताको हितविरुद्ध कहिल्यै नजाने उहाँको भनाइ थियो ।