काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलको बैठक आज बस्ने भएको छ ।
आजदेखि सुरु हुने संसद बैठकमा दलको रणनीति तय गर्न बैठक बोलाइएको एमाले नेता सुवास नेम्बाङले बताउनुभयो । बिहान ९ बजे संसद भवनको ल्होत्से हलमा बैठक बस्न लागेको उहाँले बताउनुभयो । सरकारले गर्न हुने नहुने सवै कार्य गरेको र झुक्याएर संसद बैठक स्थगित गरेको भन्दै उहाँले आजको बैठकमा गम्भिर छलफल हुने बताउनुभयो । सरकारले सदन स्थगित गरेर एमाले फुटाउन दल बिभाजनको अध्यादेश ल्याएको र हिजोसम्म दल रोज्न पाउने समय पुरा गरेर आज बैठक बोलाएकोमा असन्तुष्टि जनाउनुभयो । नेम्वाङले भन्नुभयो, ‘एमालेलाई फुटाउन हतारहतार संसद बैठक स्थगित गरियो अनि दल बिभाजनको अध्यादेश ल्याइयो हिजो दल बिभाजनको समय समाप्त भएपछि आज बैठक बोलाइएको छ यसलाई हामीले गम्भिर रुपमा लिएका छौ ।’
सरकारले दल विभाजन सम्बन्धि अध्यादेश ल्याएर आफ्नो दल फुटेपछि एमाले निकै आक्रामक बनेको छ । दल बिभाजन भईसकेपछि आजको बैठकमा संघीय संसद्मा नेकपा (एमाले) विभाजित भई बनेको नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी गरी दुई दल थपिने भएका छन् ।