काठमाडौं । संघीय संसद्को दुवै सदनको दशौँ अधिवेशन आजदेखि सुरु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा बुधबार अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गर्नुभएको थियो ।
यसपटक संघीय संसद्मा मा नेकपा (एमाले) विभाजित भई बनेको नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी गरी दुई दल थपिने भएका छन् । संसद्मा दुई दल थपिने तथा सत्तापक्ष र प्रतिपक्षको गणित पनि फेरिएको परिस्थितिमा संघीय संसद् सचिवालयले नयाँ दलसहितलाई समेटेर सिटको व्यवस्थापन मिलाइसकिएको जानकारी गराएको छ ।
संघीय संसद् सचिवालयका प्रवक्ता दशरथ धमलाले थपिएका नयाँ दलको लागि पनि सिट व्यवस्थापन गरिसकिएको बताउनुभयो । सबै दलका नेताहरु अगाडि रहनेगरी र अन्य सदस्यहरु क्रमशः पछाडि रहनेगरी दूरी कायम गरेर सिटको व्यवस्थापन मिलाइएको उहाँले जानकारी दिनुभयो ।
सत्तापक्षतर्फ बीचबाट ठूलो दल र क्रमशः सदस्य संख्याको आधारमा साना दल रहने व्यवस्था मिलाएको छ। यसो गर्दा सत्ता पक्षतर्फ दायाँ तर्फबाट क्रमशः नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी रहनेछन् ।
त्यसैगरी प्रतिपक्षतर्फ भने क्रमशः नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी रहनेगरी सिटको व्यवस्थापन मिलाइएको छ । स्वतन्त्र सांसद लगायत साना दलका सांसदहरुलाई भने बीचमा सिटको व्यवस्थापन गरिएको छ ।
त्यसैगरी राष्ट्रिय सभातर्फ भने राष्ट्रिय सभा अध्यक्षको दायाँतर्फ सत्तापक्ष र बाँयातर्फ प्रतिपक्ष रहनेगरी व्यवस्था मिलाइएको छ । सत्तापक्षतर्फ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी रहने छन् भने प्रतिपक्षतर्फ नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी रहनेगरी व्यवस्था मिलाइएको संसद सचिवालय स्रोतले जानकारी गराएको छ ।