काठमाडौं । असोज १ गतेबाट स्वास्थ्य मापदण्ड पालना गरेर काठमाडाैं उपत्यकाका विद्यालय खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौं र जिल्लाभित्रका स्थानीय तहका प्रतिनिधिहरूबीच विद्यालय सञ्चालनको विषयमा आज भएको छलफलबाट सो निर्णय भएको हाे ।
जिल्ला प्रशासन कार्यालय काठमाडौमा भएको छलफलले असोज १ गतेबाट स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न सक्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
स्थानीय तहहरुले विद्यालय सञ्चालन गर्दा नगरशिक्षा समितिको बैठक बसेर स्वास्थ्य मापदण्डको पूर्ण पालना हुनेगरी विद्यालय सञ्चालन गर्ने प्रतिबद्धता जनाएको पराजुलीले बताउनुभयो ।
उहाँका अनुसार छलफलमा जिल्लाभित्रका ४० प्रतिशत विद्यार्थीहरुमात्र अनलाइनको पहुँचमा रहेको देखिएकाले पनि विद्यालय सञ्चालनको प्रक्रिया अगाडि बढाइएको हो ।
उता स्वास्थ्य विज्ञहरुले खोप नलगाई विद्यालय खोल्ने निर्णय गरेकोमा चिन्ता व्यक्त गरेका छन् । पछिल्लो तथ्याङ्कले विदेशी राष्ट्रहरुमा बालबालिकाहरु बढी सङ्क्रमण भएको देखाएसँगै विज्ञहरुले पनि बालबालिका बढी जोखिममा रहेको बताइरहेको बताएका हुन् ।
त्यस्तै स्वास्थ्य मन्त्रालयले पनि अहिले नै विद्यालय सञ्चालन गर्न हतार गर्न नहुने बताएको छ । मन्त्रालयका सह-प्रवक्ता समीरकुमार अधिकारीले सङ्क्रमण दर घटे पनि जोखिम नटरेकाले विद्यालय सञ्चालन गर्न नहुने बताउनुभयो । पछिल्लो अध्ययनले बालबालिका बढी सङ्क्रमण हुन सक्ने देखाउँदा नेपालका १८ वर्षमुनिका बालबालिकाहले खोप नपाइसकेको अवस्थामा विद्यालय सञ्चालन त्यति न्यायोचित नहुने उहाँको भनाइ छ । “सरकारले गर्ने निर्णयमा मन्त्रालयले केही गर्न मिल्दैन तर बालबालिकालाई बढी जोखिम छ” उहाँले भन्नुभयो ।
यस्तै महामारीविद् डा. केदार बरालले पनि अहिले विद्यालय सञ्चालन गर्दा बालबालिकामा कोरोना संक्रमण बढ्न सक्ने बताउनुभयो । शिक्षकले कोरोनाविरुद्धको खोप लगाए पनि बालबालिका भने खोपको पहुँचबाट वञ्चित रहेकाले जोखिम रहेको उहाँको भनाइ छ । बालबालिकाको एन्टिबडी कमजोर हुने भएका कारण पनि बालबालिकामा कोरोना सङ्क्रमण भए समस्या हुने उहाँको भनाइ छ ।
यस्तै बालरोग विशेषज्ञ डा. नर्मदा कोइरालाले पनि कोभिडको जोखिम तत्काल नटरेकाले विद्यालय सञ्चालन गर्न केही समय पर्खनुपर्ने बताउनुभएको छ । बालबालिकाले स्वास्थ्य मापदण्डको पालना पनि गर्न नसक्ने भएकाले विद्यालयबाट कोरोना सङ्क्रमण अझ बढ्न सक्ने उहाँको भनाइ छ । बालबालिकालाई विद्यालय पठाउँदा मनोवैज्ञानिक रुपले राम्रै मानिए पनि शारीरिक तवरले खतरा नै रहेको उहाँ बताउनुहुन्छ ।
बालबालिका धेरै समयपछि आफ्नो साथीलाई भेट्दा नजिकिएर बस्ने खेल्ने गर्न सक्छन् । यस्तो अवस्थामा कोरोना सङ्क्रमणको जोखिम उच्च हुने उहाँले बताउनुभयो ।