काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले शेरबहादुर देउवाले दल फुट्ने या सरकार ढल्ने डरले मन्त्रिपरिषद् विस्तार गर्न नसकेको बताउनुभएको छ । राष्ट्रिय युवा संघ नेपालले सोमबार गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
नेता नेम्बाङले सरकार विस्तार गर्दा सरकार ढल्ने र दल फुट्ने सम्भावना भएकाले देउवा सरकार विस्तार गर्न नसकेको बताउनुभयो । उहाँले सरकार बनेको ५० दिनसम्म मन्त्रिपरिषद् विस्तार नहुनुमा सरकार ढल्ने डर मुख्य कारण भएको बताउनुभयो ।
उहाँले भन्नुभयो- पाँचजना मन्त्रीले चलेको यो सरकार ५० दिन पुग्दा पनि विस्तारको नाम निशाना छैन । सरकार विस्तार गर्दा यो सरकार नै पो ढल्छ भन्ने डर छ ।
उहाँले बताउनुभयो, ‘सरकार विस्तार भयो भने दल फुट्ने हो कि सरकार नै ढल्ने हो कि भन्ने अचम्मको अवस्था छ । यो अवस्थामा सरकार चलिरहेको छ ।’
दोस्रो पटक संसद् विघटन गर्नु एमाले अध्यक्ष केपी ओलीको बाध्यता भए पनि सर्वोच्च अदालतले संसारमै नभएको अचम्मको फैसला गरेको नेम्वाङले टिप्पणी गर्नुभयो । सरकारले विजनेस नदिंदा संसद्ले सिन्को भाँच्न पनि नपाएको उहाँको भनाइ थियो ।