Margadarsan


  • क्रियाशील सदस्यता नदिइए कडा प्रतिकार गर्ने सप्तरी कांग्रेसको चेतावनी

    मार्गदर्शन २१ भाद्र २०७८, सोमबार

    सप्तरी । नेपाली कांग्रेस सप्तरीले सिफारिस गरिएका क्रियाशील सदस्यता नदिइए कडा प्रतिकार गर्ने चेतावनी दिएको छ ।

    पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्र बमोजिम विधिवत क्रियाशील फारम भरेर केन्द्रलाई बुझाए पनि फायल नै बन्द गरिएको सप्तरी कांग्रेसका सभापति दिनेश यादवले बताउनुभयो ।

    सभापति यादवले सोमबार सदरमुकाम राजविराजमा पत्रकार सम्मेलन आयोजना गरी जिल्लाभित्र करीब ९ हजार नयाँ क्रियाशील सदस्यले पार्टीप्रति आस्था राख्दै त्यसबापतको शूल्क समेत तिरिसकेको अवस्थामा केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले स्थगित गरेको बताउनुभयो ।

    क्रियाशील सदस्यता स्थगन गर्दा चार हजारको संख्यामा पार्टी प्रवेश गरेका व्यक्तिलाई ठाउँ दिन नसकिएको र मापदण्ड पनि पूरा नभएको सभापति यादवले बताउनुभयो । उहाँले भन्नुभयो- ‘जिल्लामा परिपत्र गरिए अनुसार गाउँपालिकामा ४५ र नगरपालिकाको वडामा ५१ जना क्रियाशील हुनुपर्ने मापदण्ड तोकिएको छ तर कुनै वडामा शून्य छ भने कुनैमा त्यो संख्या अपुग छ ।’

    जिल्लाका १६४ मध्ये ९१ वडामा यस्तो समस्या देखिएको बताउँदै सभापति यादवले सप्तरी जिल्लामा धेरै ठूलो अन्याय गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कांग्रेस जिल्ला कार्यसमिति यसप्रति घोर भर्त्सना गर्दछ।’

    फेसबुक प्रतिक्रिया