काठमाडौं । नेपाली फुटबल टिम र भारतीय फुटबल टिमबीच आज दोस्रो मैत्रीपूर्ण खेल हुने भएको छ । सो खेल आज साँझ ५ः३० बजे दशरथ रंगशालामा हुने भएको हो ।
साफ च्याम्पियनसिपको तयारीमा रहेको भारत दुई मैत्रिपूर्ण खेलको लागि नेपाल आएको हो । बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा दुवै टोलीले १-१ गोल गरेका थिए । अब दोस्रो खेलमा दुवै टिम प्रदर्शन सुधार गर्दै जित हात पार्ने लक्ष्यका साथ मैदान उत्रनेछन् ।
नेपाल पनि विगत दुई महिनादेखि साफ च्याम्पियनसिपको तयारी गरिरहेको छ । त्यही तयारी स्वरुप नै भारतसंँग मैत्रिपूर्ण खेल आयोजना गरेको हो ।
दोस्रो खेलअघि शनिबार नेपाली टिमले एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रशिक्षण गरेको थियो । भारतीय टिमले भने बिहान सोल्टी होटलबाहिरै हल्का स्ट्रेचिङ गरेको थियो । यस्तै दिउँसो भद्रकालीस्थित आर्मी हेडक्वाटरमा प्रशिक्षण गरेको भारतीय फुटबल संघले जनाएको छ । संघले दोस्रो खेलमा अझ राम्रो प्रदर्शन गर्ने समेत जनाएको छ ।
पहिलो खेलअघि प्रिम्याच कन्फ्रेन्समा नेपालका प्रशिक्षक अबदुल्लाह अलमुताईरीले भारत बलियो टिम भए पनि जितकै लागि खेल्ने बताउनुभएको थियो । तर पहिलो खेल बराबरी भएपछि उहाँले नेपाली समर्थकसँग माफी माग्दै अझै सुधार गर्नुपर्ने बताउनुभयो । भारतीय प्रशिक्षक इगोर स्टिमाकले भने भारत अझै २-३ गोलको हकदार भएको बताउनुभएको थियो । दुवै प्रशिक्षकको भनाइले पनि जितकै लागि खेलेको प्रष्ट हुन्छ । दोस्रो खेलमा जितकै लागि खेल्ने यो भनाइले संकेत गर्छ ।
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल
नेपाल भर्सेस भारत
मिति : २०७८ भदौ २० गते
समय : साँझ ५:३० बजे
स्थान : दशरथ रंगशाला, त्रिपुरेश्वर