काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता सूर्य थापाले वामदेव गौतमप्रति कडा टिप्पणी गर्दै अस्थिरताको दृष्टिले बामदेव प्रचण्डको साख्खै भाइजस्तै भएको बताउनुभएको छ । शनिबार बिहान फेसबुकमार्फत् नेता थापाले गौतमलाई एकै दिनमा तीनवटा कुरा गर्ने अस्थिर स्वभावको भएको टिप्पणी गर्नुभयो ।
एमाले उपाध्यक्षबाट राजीनामा दिएपछि थापाले नेता गौतमलाई संकेत गर्दै फेसबुकमा लेख्नुभएको छ, ‘उनी एकै दिनमा तीन थरी कुरा गर्थे । बिहान घरबाट निस्किँदा नेकपा (माले) को पक्षमा कुरा गर्थे । दिउँसो माओवादी बनिसक्थे र बेलुका दरबार पो ठिक हो कि भनेर अलमलमा पर्थे ।’
एमालेबाट विभाजित बनेर माले बनेको २०५४/२०५८ अवधिमा पनि उनको यस्तै अस्थिरता रहेको आरोप नेता थापाले लगाउनुभयो । उहाँले लेख्नुभएको छ, ‘खासमा अस्थिरताको हिसाबले यिनी पुष्पकमल दाहालको सास्खै सानी आमाको छोरा भाइजस्तै लाग्छन् र छन् । २०५४-५८ ताका यति अस्थिर र चञ्चल व्यक्ति नेपाली राजनीतिमा को थियो ?’
प्रचण्ड र नेता गौतमको उस्तै-उस्तै अस्थिरताको कारणले नेकपा हुँदै एमाले विभाजित भएर दुई तिहाइको कम्युनिष्ट सरकार र आफ्नो इतिहास समेत संकटमा परेको उहाँले दाबी गर्नुभयो ।