अनुमतिबिना भारतले दार्चुलाको आकाशमा तीन दिनदेखि लगातार हेलिकोप्टर उडाएको छ । बुधबार र बिहीबार दार्चुला सदरमुकाम खलंगाकै आकाशमा भारतीय हेलिकोप्टर बिनाअनुमति उडाइएको थियो भने शुक्रबार महाकालीवारि व्यास गाउँपालिका–२ को आकाशमा समेत भारतीय हेलिकोप्टर उडाइएको छ । देउवा सरकार भने यस विषयमा मौन बसेको छ ।
भारतले सीमावारि दार्चुलाको आकाशमा बिनाअनुमति पटक–पटक हेलिकोप्टर उडाउने गरेको स्थानीय बताउँछन् । नेपाली सेनाको गुरु गोरख गुल्ममाथि पनि भारतीय हेलिकोप्टर उडाइएको थियो ।
अनुमतिबिना सदरमुकामकै आकाशमा हेलिकोप्टर उडाएपछि दार्चुलाका प्रमुख जिल्ला अधिकारीले पिथौरागढ डिएम प्रशासनलाई बिहीबार लिखित पत्र पठाएर आपत्ति जनाउनुभएको थियो । ‘हाम्रो सदरमुकामकै अकाशमा बुधबार र बिहीबार भारतीय हेलिकोप्टर उडेको देखेपछि पिथौरागढ डिएम प्रशासनलाई हाम्रो भूमिमा हेलिकोप्टर नउडाउनु भनेर पत्र पठाएको हुँ,’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताउनुभयो । गृह मन्त्रालयमा समेत भारतीय हेलिकोप्टर उडेको जानकारी गराएको उहाँले गराउनुभयो ।
अनुमतिबिना नेपाली भूभागमाथि हेलिकोप्टर उडाउन नपाइने उहाँले बताउनुभयो । ‘हेलिकोप्टरमा सदरमुकाममाथि उडाएर के निगरानी गर्न खोजेको हो ? उडाउन नपाउने ठाउँमा हेलिकोप्टर उडाइएको छ,’ प्रजिअ जोशीले भन्नुभयो, ‘अनुमति नमागी हाम्रो भूमिमा हेलिकोप्टर उडाउन पाइँदैन।’ नेपाली सेनाको गुल्मले आपत्ति जनाउँदै तत्काल रोक्ने गरी पहल थाल्न जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको थियो । भारतको धार्चुलाबाट भारतीय हेलिकोप्टर नेपाली ‘एयर स्पेस’ नाघेर सुरक्षा निकाय, सरकारी कार्यालय रहेको सदरमुकाममाथि उड्न थालेपछि बुधबार जिल्ला सुरक्षा समितिको बैठक बसेको थियो। बैठकले भारतीय कदमप्रति आपत्ति जनाउँदै यस्तो गतिविधि रोक्न पहल गर्ने निर्णय गरेको थियो । बिहीबार दार्चुला प्रशासनले भारतीय जिल्ला अधिकारीलाई पत्र पठाउँदै यो कदम तत्काल रोक्न भनेको हो ।
हेलिकोप्टर गैरसैनिक भए पनि भारतको कुन निकायले उडाएको भन्ने खुल्न बाँकी रहेको दार्चुला प्रशासनले जनाएको छ। नेपालको बाढी प्रभावित दुहुँ गाउँपालिका क्षेत्रमा नेपाली हेलिकोप्टरमार्फत् खाद्य सामग्री ढुवानी गर्नुपर्ने भएकाले दुवै देशबीच समन्वय नभई यसरी भारतीय हेलिकोप्टर नेपाली आकाशमा उडाइँदा दुर्घटनाको समेत जोखिम हुने गर्छ। प्रजिअ जोशीले बिहीबार पत्र पठाएर आपत्ति जनाएपछि पनि भारतीय हेलिकोप्टर दार्चुलामा आकाशमा उडाउन रोकिएको छैन । तर केन्द्र सरकारले भने यसबारे चुँ सम्म पनि गरेको छैन ।
शुक्रबार दिउँसो पनि भारतीय हेलिकोप्टर व्यास गाउँपालिका–२ डुम्लिङको आकाशमा उडेको स्थानीयले बताएका छन्। ‘अस्तिदेखि लगातार भारतीय हेलिकोप्टर हाम्रो ठाउँमाथि आकाशमा उड्ने गरेको छ,’ व्यास–२ का अध्यक्ष धिरेन बुढाथोकीले बताउनुभयो । भारतीय हेलिकोप्टर पटक-पटक नेपालतर्फ आएर आकाशमा उड्ने गरेको उहाँले बताउनुभयो । ‘बेलाबेलामा भारतीय हेलिकोप्टर नेपालतर्फको आकाशमा उडाउने गरिएको छ,’ उहाँले भन्नुभयो । सैनिक र गैरसैनिक दुवै प्रकारका हेलिकोप्टर बेलाबेलामा नेपालको अकाशमा उडिराख्ने उहाँले बताउनुभयो ।
भारतीय एसएसबीले तुइन फुकाल्दा महाकाली नदीमा बगेर बेपत्ता भएका व्यास गाउँपालिका–२ का ३३ वर्षीय जयसिंह धामीको खोजीका लागि भारत पक्षले महाकालीको किनारमा समेत ड्रोन उडाउन अनुमति नदिएर असहयोग गरेको थियो। दार्चुला जिल्ला प्रशासनले भारतको पिथौरागढ डिएम प्रशासनलाई जयसिंहको खोजीका लागि ड्रोन उडाउने सहमतिका लागि पत्राचार गरेको थियो तर डिएम प्रशासनले जवाफ फर्काएन ।
सरकारले कूटनीतिक रूपमा गर्नुपर्ने पहल गर्न नसकेको स्थानीयको भनाइ छ। ‘सरकार भारतसँग डराएको जस्तो कमजोर देखिएको छ, कूटनीतिक रूपमा भारतलाई सामान्य चिठी लेख्न पनि सरकारले सकेको देखिएन,’ कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा. हेमराज पन्तले भन्नुभयो, ‘परराष्ट्र नीति एकदम कमजोर देखियो यो सरकारको असफलता हो ।’
भारतीय पक्षले सहमति नदिएपछि प्रहरी प्रधान कार्यालय नक्सालबाट आएको प्राविधिकद्वय प्रहरी नायब निरीक्षक प्रेम गन्धर्व र गोविन्द परियारको टोलीले नेपालतर्फको भूभागमा मात्र ड्रोन उडाएर धामीको खोजी गरेको थियो ।
धामीको अझैसम्म पत्तो लाग्न सकेको छैन । तुइन फुकालेर जयसिंह धामी महाकाली नदीमा बगाएको पीडा ताजै रहेका बेला भारतीय हेलिकोप्टर सदरमुकामकै आकाशमा उडाइनुलाई स्थानीयले भारतको हेपाहा प्रवृत्ति भन्दै आक्रोश व्यक्त गरेका छन्। ‘अनुमतिबिना हाम्रो सदरमुकामको आकाशमा भारतले हेलिकोप्टर उडाउनु हेपाहा प्रवृत्ति हो, यस्तो दादागिरी रोकिनुपर्छ,’ महाकाली नगरपालिका–४ का वडा अध्यक्ष पुष्करराज जोशीले भन्नुभयो । जयसिंहको खोजी महाकाली नदीमाथि ड्रोन उडाउन नदिने भारतले अनुमतिबिना सदरमुकाममाथि नै हेलिकोप्टर उडाएर दादागिरी शैली प्रस्तुत गरेको भन्दै स्थानीयले विरोध जनाएका छन् ।
एसएसबीले तुइन फुकालेर जयसिंहलाई नदीमा बगाएको घटनालगत्तै भारतले बिनाअनुमति सदरमुकामको आकाशमा हेलिकोप्टर उडाएको स्थानीयले विरोध जनाएका छन् । सरकारले कूटनीतिक रूपमा गर्नुपर्ने पहल गर्न नसकेको स्थानीयको भनाइ छ। ‘सरकार भारतसँग डराएको जस्तो कमजोर देखिएको छ, कूटनीतिक रूपमा भारतलाई सामान्य चिठी लेख्न पनि सरकारले सकेको देखिएन,’ कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा. हेमराज पन्तले भन्नुभयो, ‘परराष्ट्र नीति एकदम कमजोर देखियो यो सरकारको असफलता हो ।’
भारतसँग सामान्य आफ्नो दाबी राख्ने अर्थात् के भएको हो भनेर कूटनीतिक रूपमा पहल गर्न सरकारले सक्नुपर्ने उहाँको भनाइ छ। एसएसबीले तुइन फुकालेर जयसिंह नदीमा बगाइएको घटना र नेपाली आकाशमा अनुमतिबिना हेलिकोप्टर नउडाउने विषयमा नेपाल सरकारले कूटनीतिक रूपमा भारतसँग कुनै पहल नगरेकोमा स्थानीयले देउवा सरकारप्रति आक्रोश व्यक्त गरेका छन् ।
देउवा सरकार जनमतबाट बनेको नभई परमादेशबाट बनेकाले पनि भारत सरकारले मतलब राखेको छैन ।