काठमाडौं । एमसीसी खारेज गर्न माग गर्दै आज काठमाडौंस्थित अमेरिकी दूतावासअगाडि युवाहरुले प्रदर्शन गरेका छन् । उक्त प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
‘एमसीसी खारेज राष्ट्रिय अभियान’को नामबाट युवाहरु प्रदर्शनमा उत्रिएका थिए । उनीहरुलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको थियो । साथै प्रहरीले प्रदर्शनमा उत्रिकाहरुमाथि दमनसमेत गरेको छ ।
अभियानका संयोजक निर्ग जैसी (नवीन) ले आफूसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएर महाराजगञ्जमा राखेको बताउनुभयो । पक्राउ पर्नेहरुमा जैसीसहित, जनक ढुंगाना, सम्राट थापा, कुलदीप शर्मा, सुरज तामाङ, टेकम बिसी, मोहमद नसिर, दुर्गा जोशी, केदार थामी र सुशील नेपाली रहेका छन् ।
जैसी माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यसमेत हुनुहुन्छ । उहाँले आफ्नो नेतृत्वमा एक हजार एकजनाको ‘एमसीसी खारेज राष्ट्रिय अभियान’ गठन गरेको जानकारी दिनुभयो । आजको विरोध प्रदर्शन भने काठमाडौं जिल्ला समितिका सम्राट थापाले आयोजना गरेको उहाँले बताउनुभयो ।
देउवा सरकारले एमसीसी पास गर्ने मनसायका साथ अगाडि बढिरहेका बेला त्यसको विरोधमा युवाहरुले प्रदर्शन गरेका हुन् । एमसीसी नेपालकाे सार्वभौमसत्तामाथि आँच पुग्ने भन्दै सर्वत्र विरोध भइरहेको छ ।
यता नेकपा एमालेका उपाध्यक्ष भीम रावलले देउवा सरकारले एमसीसी उपाध्यक्षलाई बोलाएर राष्ट्रघाती सम्झौता गर्न लागेको बताउनुभएको छ ।
उहाँले शेरबहादुर देउवाले एमसीसी उपाध्यक्षलाई बोलाएर एमसीसी अघि बढाउन खोजेको आरोप लगाउनुभयो ।
सुरुदेखि नै एमसीसीको चर्को विरोध गर्दै आउनुभएका रावलले शुक्रबार ट्वीटरमार्फत अस्थिर राजनीतिक वातावरणमा एमसीसी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र भइरहेको बताएको हो ।