काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी सतादेखि विद्यालय खोल्ने तयारी थालेको छ ।
स्मार्ट–लकडाउन कार्यविधि अनुसार काठमाडौंको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले विद्यालय खोल्न सक्ने भनेपछि महानगरले विद्यालय खोल्ने तयारी गरेको हो ।
महानगर शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले शिक्षा समितिका पदाधिकारीसँग छलफल गरेर आगामी सातादेखि खोल्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
‘प्रशासन कार्यालयले स्थानीयले विद्यालय खोल्न सक्ने भनेको छ । त्यसैले शिक्षा समितिका पदाधिकारीसँग बसेर छलफल गरिरहेका छौं । आगामी हप्तादेखि खोल्ने गरी प्रयास गरिरहेका छौं ।’
जिल्ला प्रशासन कार्यालयले बुधबार जारी गरेको आदेशमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने भए स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चालनको निर्णय गर्न सक्ने भनेपछि काठमाडौँ महानगरले विद्यालय भौतिक उपस्थितिमै सञ्चालन गर्न लागेको हो ।
























