काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेस पार्टीको १४ औँ महाधिवेशनको प्रक्रिया भोलिबाट शुरु हुने भएको छ । काँग्रेस विधानअनुसार सबैभन्दा तल्लो तहको अधिवेशनअन्तर्गत भोलिबाट वडा अधिवेशन सुरु हुने भएको हो ।
समस्या भएका जिल्लाहरुमा बाहेक काँग्रेसले भदौ १८ गते नै महाधिवेशनको प्रक्रिया शुरु गर्ने भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । बुधबार प्रवक्ता शर्माले देशभर एकसाथ वडाहरुको अधिवेशन प्रारम्भ हुने दिनबाट पार्टीको महाधिवेशनको श्रृंखला प्रारम्भ हुने बताउनुभएको थियो ।
काँग्रेसले हालसम्म ५६ जिल्लाको क्रियाशील सदस्यता नामावली सार्वजनिक गरेको छ । ७७ वटै जिल्लाका क्रियाशीश सदस्यको नाम एकै पटक सार्वजनिक नहुँदा वडा अधिवेशन जिल्लाअनुसार नै फरकफरक मितिमा हुने भएको छ । काँग्रेसले भोलिदेखि ५ दिनमा वडा अधिवेशन सम्पन्न गर्ने कार्यतालिका रहेको छ । केही जिल्लाको सदस्यता सार्वजनिक गर्न बाँकी र केन्द्रीय निर्वाचन अधिकृत तोक्न बाँकी रहेकाले अधिवेशनको मिति पनि एक दुई दिन हेरफेर हुने देखिएको हो ।
काँग्रेसका क्रियाशील सदस्य, अन्य सदस्य र पार्टीमा आवद्ध पदाधिकारीहरुले महाधिवेशनमा भेटघाट गर्दा र कार्यक्रम गर्दा सबैलाई मास्क लगाउन पनि अपील गरेको छ ।