काठमाडौँ । विवेकशील साझा पार्टीको आज छुट्टाछुट्टै बैठक बस्ने भएको छ । अध्यक्ष रवीन्द्र मिश्रले दिउँसको १२ बजेका लागि बैठक बोलाउनुभएको छ भने, संयोजक रहेका मिलन पाण्डेले ११ बजेका लागि बैठक राख्नुभएको छ ।
यी दुवै बैठक भर्चुअल माध्यमबाट हुने पार्टीका प्रवक्ता शरदराज पाठकले बताउनुभएको छ । अध्यक्ष मिश्रले गत साउन ११ गते सङ्घीयताको खारेजी र धर्म निरपेक्षतामा जनमत सङ्ग्रहसहितको राजनीतिक प्रस्ताव सार्वजनिक गरेपछि विवेकशील साझामा वैचारिक मतभेद देखिएको छ । पाण्डे समूहले मिश्रको राजनीतिक प्रस्ताव पार्टीलाई स्वीकार्य नहुने बताएको छ । आजको बैठकमा दुवै पक्षले एकअर्कालाई स्पष्टीकरण सोध्ने तयारी गरेको बुझिएको छ ।
मिश्र समूहले संयोजक पाण्डे, नेताहरू केशव दाहाल र हरिष भट्टलाई प्रस्टीकरण सोध्ने तयारी गरेको छ । त्यस्तै पाण्डे समूहले पनि अध्यक्ष मिश्र र प्रवक्ता शरद पाठकलाई जिम्मेवारीबाट हटाउने तयारी गरेको बताइएको छ ।