काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर उठ्न थालेको छ । महानगरपालिका र नुवाकोटको सिसडोलका बासिन्दाबीच फोहोर व्यवस्थापनबारे ९ बुँदे सहमति भएसँगै काठमाडौंमा दुई हप्तादेखि थुप्रिएको फोहोर आजबाट उठ्न थालेको हो ।
काठमाडौं उपत्यकाबाट संकलित एक हजार दुई सय मेट्रिक टन फोहोर दैनिकरुपमा सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । तर बर्खाको बेला सिसडोलसम्म पुग्ने बाटो बिग्रिएको कारण देखाउँदै महानगरपालिकाले फोहोर नउठाउँदा राजधानी शहर दुर्गन्धित बनेको छ ।
सिसडोलवासीसँग मंगलबार बेलुका भएको सहमतिअनुसार सरकारी पक्षले सिसडोलसम्मको बाटो १५ दिनभित्र ग्राभेल गर्ने, बाटोमा छरेका फोहोर उठाउने र टाइम कार्डको प्रयोग गरिने छ । साथै सिसडोलका विद्यालय र क्लबहरुमा खेलकुद सामग्रीको व्यवस्थापन गर्ने तथा सडकमा परेका जग्गाको मुआब्जाबारे छलफल गर्ने उल्लेख छ ।
यो सहमतिसँगै आजदेखि उपत्यकामा थुप्रिएको फोहर सिसडोलमा व्यवस्थापन गर्ने काम सुरु भएको छ । महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार नियमित रुपमा पूर्णक्षमतामा फोहोर उठाउँदा पनि अहिलेसम्म जम्मा भएको फोहोर उठाइसक्न करिब एक महिन लाग्ने बताइएको छ । करिब १५० सवारीले नियमित रुपमा नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइटमा फोहोर लैजान सकेमा ४ हप्तामा मात्रै शहरमा थुप्रिएका फोहोर उठाइसकिने छ । त्यसपछि मात्रै फोहोर उठाउने काम नियमित तालिकामा फर्किन सम्भव हुन्छ ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको हिजो बसेको बैठकले आजदेखि फोहोर उठाउने निर्णय गरेको थियो ।
























