काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष र संयोजकले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठकको आह्वान गरेका छन् । अध्यक्ष रविन्द्र मिश्रले बिहीबारका लागि बैठक डाकेपछि संयोजक मिलन पाण्डेले पनि छुट्टै केन्द्रीय कमिटी बैठक बोलाउनुभएको हो ।
अध्यक्ष मिश्रले ‘पार्टीभित्र उत्पन्न परिस्थितिबारे छलफल गर्न’ भन्दै मंगलबार केन्द्रीय सदस्यहरुलाई इमेल गरेर बैठक आह्वान गर्नुभएको थियो । संयोजक पाण्डेले मिश्रले आह्वान गरेको बैठक एकीकरणको सम्झौता विपरीत भएको भन्दै रोक्न माग गर्नुभएको थियो । तर बुधबार केन्द्रीय सदस्यहरुलाई पत्र पठाउँदै उहाँले भदौ १७ गते बिहान ११ बजे छुट्टै बैठक आह्वान गर्नुभएको हो ।
‘विवेकशील साझा पार्टीको विधान दफा २० (१०) अनुरुप यसअघि केन्द्रीय अध्यक्ष र केन्द्रीय संयोजकको सहमतिमा बैठक बोलाउने एवं एजेण्डा तय गरिने गरिएको बेहोरा यहाँहरु सबैलाई अवगतै छ’ पत्रमा भनिएको छ, ‘यसपटक पनि उक्त अभ्यास अनुरुप एजेण्डामा सहमति कायम गर्न गरिएको हरसम्भव प्रयास सफल हुन नसकेको र पार्टीको अध्यक्षले उहाँकै शब्दमा मार्ग परिवर्तन गर्नुभएका कारण पार्टीलाई लामो समय अनिर्णयको बन्दी बनाउनु उचित नदेखिएको हुँदा पार्टी विधानकै दफा ६१ (३) ले केन्द्रीय संयोजकलाई दिएको अधिकार प्रयोग गरी बैठक आह्वान गरेको छु ।’
संयोजक पाण्डेले बोलाएको बैठकमा बैठक सञ्चालन कार्यविधि पारित गर्ने, न्याय तथा सुशासन आयोग गठन गर्ने, वैकल्पिक पाठशाला (स्कुल अफ अल्टरनेटिभ पोलिटिक्स) को स्थापना, पार्टीमा देखिएको वैचारिक विचलन र आगामी कार्यदिशालगायतका एजेण्डामा छलफल हुने बताइएको छ ।
पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राजसंस्थाको वकालत गर्दै सघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने मागसहितको दस्तावेज सार्वजनिक गरेपछि पार्टीमा वैचारिक मतभेद देखा परेको छ ।
यसबीचमा अध्यक्ष मिश्रको प्रतिवेदनलाई काउन्टर दिँदै संयोजक पाण्डेसहित ४ नेताले अर्को दस्तावेज सार्वजनिक गरिसक्नुभएको छ ।