सुर्खेत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष तथा कर्णाली प्रदेश संयोजक युवराज ज्ञवालीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफूले आफैँलाई सिध्याउने दिशामा लाग्नुभएको बताउनुभएको छ । सुर्खेतमा मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष ज्ञवालीले यस्तो बताउनुभएको हो ।
ज्ञवालीले माधव नेपाललाई चुनौती दिँदै अगाडि भन्नुभयो, ‘आफूले आफूलाई सिध्याउने दिशामा लाग्नुभएको छ । एमालेको मत खोसेर हामी जित्छौं भन्ने नसोच्नुस् ।’
माधव नेपालले पार्टी फुटाएर ठूलो गल्ती गरेको भन्दै उहाँले कुनै दिन नेपालले त्यो महसुस गर्नेसमेत बताउनुभयो ।
‘माधव नेपालले पार्टी फुटाएर ठूलो गल्ती गर्नुभएको छ, कुनै दिन गल्तीको महसुस गर्नुहुन्छ,’ संयोजक ज्ञवालीले माधव नेपाललाई प्रश्न गर्नुभयो, ‘एमालेको एजेण्डा र विचार लिएर उहाँ कहाँ पुग्नुहुन्छ ? हिजोको गल्तीको कारण बनाएर आज पार्टी विभाजन गर्न मिल्छ ?’
संयोजक ज्ञवालीले माधव नेपालसहितको एकताको प्रयास गरे पनि असफल भएको जिकिर गर्नुभयो । पार्टी एकताका लागि अन्तिम चरणसम्म प्रयास गरे पनि माधव नेपाल कुनै पनि हालतमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग जोडिएर बस्न नसक्ने निर्णयमा पुगेपछि आफूहरुले नेपालको साथ छोडेर १० बुँदे कार्यान्वयनमा लागेको बताउनुभयो ।
विगतमा नेपाल निकट नेता ज्ञवालीले आफूहरुले एक महिनासम्म पार्टी फुटाउनुहुन्न अन्तरसंघर्ष गरौं भनेर सम्झाउँदा पनि नमानेपछि साथ छोड्नुपरेको बताउनुभयो ।
उहाँले वाममोर्चा बनाएर एमाले सिध्याउने प्रयास नगर्न एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई चेतावनी समेत दिनुभयो । उहाँले भन्नुभयो, ‘अर्को वाममोर्चा बनाएर एमालेलाई सिध्याउन नलाग्नुस्, एमालेलाई त सिध्याउनुहोला तर तपाईंहरुले जित्नुहुन्न ।’
पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तर पार्टी निर्देशनअनुसार १० बुँदे प्रस्ताव कार्यान्वयनका लागि सहजीकरण गर्न नेता ज्ञवाली कर्णाली प्रदेशमा हुनुहुन्छ ।