काठमाडौं । नेकपा (एमाले) का सांसद सोमप्रसाद पाण्डेले एमालेका मध्यमार्गी तथा दोस्रो तहका नेताहरुकै कारण माधव नेपालले पार्टी विभाजन गरेको बताउनुभएको छ ।
रिपोटर्स क्लबले आइतबार काठमाडौंमा गरेको साक्षात्कारमा नेता पाण्डेले माधव नेपालले मात्र नभइ स्थायी कमिटीका सबै जनाले धकेल्दै धकेल्दै विभाजनमा पुर्याएको बताउनुभएको हो ।
माधव नेपाललाई पार्टी विभाजनको अवस्थामा पुरयाउने काम नै भीम रावल, घनश्याम भुषाल, योगेश भट्टराईहरुले गरेको उहाँको आरोप थियो । आफू पार्टी एकताको क्रममा सबै विषयमा चासो राख्ने नेता भएको उल्लेख गर्दै माधव नेपाल विभाजनमा जाँदा दुःख लागेको पनि उहाँले बताउनुभयो । आफूले पनि निर्वाचन आयोगमा एकीकृत समाजवादीमा रहने गरि सनाखत गर्न गएको र अहिलेसम्म आयोगले निर्णय नदिएको पनि उहाँले बताउनुभयो ।
त्यस्तै, नेकपा (एमाले) का नेता कर्ण थापाले लोकतन्त्र र जनमतको विरुद्धमा प्रतिक्रियावादीहरु एक ठाउँमा उभिएको बताउनुभयो । आफ्नो पार्टीले १४ जना सांसदलाई कारबाही गर्न गरेको पत्राचारबारे सभामुख अग्नि सापकोटाले अलमल गरेको भन्दै उहाँले आपत्ती जनाउनुभयो ।
साक्षात्कारमा कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मीन विश्वकर्माले राजनीति दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनु गलत नभएको बताउनुभयो । अहिले शेरबहादुर देउवाले संसद् पूनःस्थापना गरेर संसद्को अधिवेशन अन्त्य भएको बेलामा ल्याएको उहाँको भनाई छ । एमाले नेताहरुले कांग्रेसले आफ्नो पार्टी फुटाईदिएको भनेर लगाएको आरोपमा पनि कुनै सत्यता नभएको विश्वकर्माको टिप्पणी थियो ।
त्यस्तै, राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले आफ्नो पार्टी तत्काल सरकारमा नजाने स्पष्ट पार्नुभयो ।