वीरेन्द्रनगर । बलात्कारको आरोप लागेका कर्णाली प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीलाई बर्खास्त गर्न एमालेनिकट अनेरास्ववियु र युवा संघ नेपालले माग गरेका छन् । आइतबार उनीहरुले बलात्कारका आरोपित शाहीलाई तत्काल बर्खास्त गर्नुपर्ने माग राख्दै दिउँसो कर्णालीको राजधानी वीरेन्द्रनगरमा जुलुस निकालेका हुन् ।
उनीहरुले वीरेन्द्रनगरस्थित मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कार्यालय अगाडि चर्का नाराबाजीसहित प्रदर्शन गरे। बलात्कारी मन्त्री जोगाउन खोजेको भन्दै जुलुसमा सहभागीले मुख्यमन्त्री शाहीको राजीनामा पनि मागेका छन् ।
मन्त्री शाहीकै एक सहयोगीकी पत्नी रहेकी एक महिलाले २०७६ माघमा मन्त्रीले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् । सो घटनाको भिडियो पनि सार्वजनिक भएपछि सञ्चारमाध्यममा समाचार प्रकाशित भएका थिए ।
घटना सार्वजनिक भएसँगै त्यहाँको प्रतिपक्षी नेकपा एमालेले शाहीले नैतिकताका आधारमा पद त्याग्नुपर्ने बताउँदै आएको छ । कर्णालीको सत्ताधारी कांग्रेसले पनि घटना छानविन हुनुपर्ने अडान लिएको छ । कर्णालीस्थित महिला अधिकारवादीसहितका संगठनले बलात्कार आरोप लागिसकेपछि मन्त्री शाहीले नैतिकताका आधार राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने बताइरहेका छन् ।