काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले ओमान सिरिजपछि राजीनामा दिनुहुने भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानलाई इमेल पठाउँदै उहाँले आसन्न नेपाल, ओमान र अमेरिकाबीचको विश्वकप लिग दुईको त्रिकोणात्मक क्रिकेट सिरिजपछि नेपाली टोलीबाट बाहिरिने बताउनुभयो ।
ह्वाटमोरले पारिवारिक कारण देखाउँदै नेपाली टोलीबाट बिदा लिन चाहनुभएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिनुभयो । हाल उहाँ त्रिकोणात्मक सिरिजका लागि ओमानमा हुनुहुन्छ । ओमान सिरिज यही भदौ २८ देखि असोज ४ गतेसम्म सञ्चालन हुनेछ । उक्त सिरिजमा नेपालले ओमान र अमेरिकासित दुई–दुई खेल खेल्ने तय भएको छ ।
ह्वाटमोर आठ महिनाअघि एक वर्षका लागि नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त हुनुभएको थियो । क्यानले खुला प्रतिस्पर्धाबाट उहाँलाई प्रशिक्षक नियुक्त गरेको थियो । कोरोना महामारीका कारण बाँकी समय परिवारका साथ बिताउने भन्दै ह्वाटमोरले राजीनामा पत्र इमेल गरेको क्यानले बताएको छ ।