Margadarsan


  • बाढीले बगाएर नवलपरासीमा दुईजनाको मृत्यु, एक बेपत्ता

    मार्गदर्शन ११ भाद्र २०७८, शुक्रबार

    बुटवल । लगातारको वर्षाका कारण आएको बाढीले बगाउँदा नवलपरासीमा दुईजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् ।

    मृत्यु हुनेमा रामग्राम नगरपालिका–१८ बञ्जरियाका ३७ वर्षीय विनोद प्यासी र उहाँका छोरा १३ वर्षीय प्रदीप रहेको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभयो । सुनवल नगरपालिका–१४ की एलिसा तामाङ बेपत्ता हुनुभएको छ ।

    घरमा बाढी पसेपछि ज्यान बचाउन निस्किँदा खेतमा डुबेर उनीहरूको मृत्यु भएको लामाले बताउनुभयो । उनीहरूको शव केही तल खेतमा फेला परेको थियो ।

    तामाङको अवस्था भने अहिलेसम्म अज्ञात रहेको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक कृष्ण धितालले बताउनुभयो । उहाँलाई पनि बाढीले बगाएको प्रहरीको अनुमान छ । रातिदेखिको भीषण वर्षाले नवलपरासी सदरमुकाम परासी बजार डुबानमा परेको छ । डुबानका कारण परासीका घर र पसलमा लाखौंको क्षति भएको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया