वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ मा रहेको सर्वाेत्तम स्टिलमा विस्फोट हुँदा एक नेपालीसहित १५ जना कामदार घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एव प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार उद्योगको ग्याँस प्लान्टमा फलाम पगाल्ने भठ्ठीमा ग्याँस लिक भई भठ्ठी विस्फोट भई आगलागी हुँदा कामदारहरु घाइते भएका हुन् ।
घाईते हुनेमा बारा जिल्ला छातापिपराका २२ वर्षीय टिँकु दास र अन्य घाईते भएका भारतीय नागरिकहरुमा भारत विहारका ५२ वर्षीय विनोद पाण्डे , २१ वर्षीय दिपक कुमार , विहारको दरभंगाका १८ वर्षीय रविकुमार दास, विहारको छपराका २२ वर्षीय अवधेश कुमार यादव २२ वर्षीय निकुकुमार यादव , उत्तर प्रदेश लखनउका ५२ वर्षीय सन्तोष कुशवाह , २० वर्षीय सुशिल कुमार , ३७ वर्षीय मानस परिदा , ३० वर्षीय रामपुकार यादव , युपीकै ३८ वर्षीय चिँकु दास , १८ वर्षीय अमरनाथ सहनी , गगन नायक , भारतको खुशीनगरका ३५ वर्षीय धिरु सहनी र भारत सिवानका ३० वर्षीय अरुण कुमार रहेका छन् ।
घाईतेहरु मध्ये विनोद पाण्डे , सन्तोष कुशवाह , सुशिल कुमार , मानसा परिदा , रामपुकार यादव , टिँकु दास र गगन नायकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एव प्रहरी नायव उपरीक्षक खनालले बताउनुभयो ।
गम्भिर घाईतेहरुको टाउको सहित शरीरको अधिकांश अंग जलेको र वीरगञ्जको नारायणी वयोधा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
बिहीबार मध्यान्ह पौने १ बजे भठ्टी विस्फोट भई भएको आगलागीबाट भएको क्षतिको यकिन विवरण भने आइसकेको छैन ।