काठमाडौं । नेपाल र भारतबीचको दुई मैत्रीपूर्ण खेलको प्रसारण अधिकार एडप्याडले पाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार एडप्याडसँग प्रसारण अधिकारको सम्झौता गरेको छ । कार्यक्रममा एन्फाका महासचिब इन्द्रमान तुलाधर र एडप्याडका प्रबन्ध निर्देशक सुरज गिरिले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।
एडप्याडले २५ लाख १० हजारमा प्रशारण अधिकार किनेको हो । नेपालले साफ च्याम्पियनसिपको तयारीका लागि भारतसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल भदौ १७ र २० मा हुनेछ । नेपालले हालसम्म भारतसँग १९ खेल खेलेको छ । जसमा भारतले १३ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ४ खेल बराबरीमा सकिएको छ । साफ च्याम्पियनसिप आगामी अक्टोबरमा माल्दिभ्समा हुनेछ ।