काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले माधवकुमार नेपाल नेतृत्वमा नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा गएका नेताहरुलाई निष्कासन गर्ने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानमा आज दिउँसो बसेको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।
एकीकृत समाजवादीमा गएका नेताहरुलाई निष्कासन गर्ने निर्णय लिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘नयाँ पार्टी खोल्ने निर्णयसहित नेकपा एकीकृत समाजवादीमा गएका नेताहरुलाई एमालेबाट निष्कासन गर्ने निर्णय भएको छ।’
बैठकले एकीकृत समाजवादीमा गएका नेताको नाम पार्टीको अभिलेखबाट हटाएर निर्वाचन आयोगलाई दिने निर्णय पनि गरेको प्रवक्ता ज्ञवालीले बताउनुभयो । साथै बैठकले माधव नेपाल नेतृत्वको पार्टीमा गएका नेता-कार्यकर्तालाई एमालेमै फर्किन आग्रह गरेको जानकारी पनि ज्ञवालीले गराउनुभयो ।
उहाँले भन्नुभयो- ‘पार्टीमा फर्किनेहरूलाई हामी स्वागत गर्न तयार छौँ, फर्किएर आउनेका लागि पार्टीको ढोका सधैँ खुल्ला हुनेछ।’
एमालेले आगामी मंसिरमा राष्ट्रिय महाधिवेशन गर्नेसम्बन्धी विभिन्न निर्णय पनि गरेको छ । बैठकले आगामी मंसिर १०-१२ मा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी एमाले नेता निरु पालले मंसिर १०, ११ र १२ गते काठमाडौंमा राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरिएको बताउनुभयो ।
उहाँले आगामी असोज ४, ५ र ६ गते विधान महाधिवेशन गर्ने पनि निर्णय गरिएको जानकारी दिनुभयो । नेता पालका अनुसार केन्द्रीय कमिटी बैठकले संगठित सदस्यता असोज मसान्तभित्र नवीकरण गरिसक्नुपर्ने निर्णय गरेको छ ।
https://youtu.be/5h26yGfyrIA