काठमाडौँ । काठमाडौं उपत्यकाको फोहोर अझै एक साता नउठ्ने भएको छ । विगत ११ दिनदेखि फोहोर संकलन रोकिएपनि यो समस्या तत्काल समाधान नहुने भएको हो ।
बञ्चरेडाँडामा निर्माणाधीन ल्याण्डफिल साइटको निर्माण नसकिएकाले अझै एक सातासम्म फोहोर व्यवस्थापन नहुने भएको छ । यसअघि उपत्यकाको फोहर सिसडोलमा व्यवस्थापन गर्ने गरेको र सिसडोल पार गरेर मात्रै बञ्चरेडाँडा पुग्नुपर्ने भएकाले कठिनाई भएको सहरी विकास मन्त्रालयका सूचना अधिकारी सुरेशकुमार वाग्लेले बताउनुभयो ।
साँघुरो ठाउँ तर लामो समयदेखि फोहोर व्यवस्थापन गरिँदै आएकाले सिसडोलमा रहेको फोहोरको ढिस्कोलाई पार गरेर बञ्चरेडाँडासम्म गाडी जान सक्ने अवस्था छैन ।
‘त्यसका लागि पहिले सडक विभाग र काठमाडौँ महानगरपालिकाले समन्वय गरेर सिसडोल पार गर्ने पुल निर्माण गर्नुपर्छ, अन्यथा समस्या समाधान हुन कठिन छ,’ वाग्लेले बताउनुभयो । साउन ३२ देखि नै कामपाले सार्वजनिक रूपमा सूचना जारी गरेर नगरवासीलाई एक साता घरबाहिर फोहोर ननिकाल्न आग्रह गरेको थियो ।
























