काठमाडौं । नेकपा एमालेबाट विद्रोह गरेका माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को दल दर्तामा ५५ केन्द्रीय सदस्य र २९ सांसदले सनाखत गरेका छन् । नेकपा एमालेबाट फुटेर नेपाललगायतका नेताहरुले अलग दल नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निवेदन दिएका थिए । सो निवेदनपछि दल दर्ताको प्रमाणपत्र दिन आयोगले आज सनाखत गर्न नेताहरुलाई बोलाएको थियो ।
निवेदनको बेला हस्ताक्षर नगरेका ४ जना सांसद आज थपिएपछि आयोगमा यस विषयमा छलफल भएको छ । सांसदहरु सोमप्रसाद पाण्डे, माया ज्ञवाली, तुलसा थापा र शारदा भट्ट आयोगमा उपस्थित भए पछि उनीहरुको सनाखतबारे विवाद भएको हो ।
नेता झलनाथ खनालको नयाँ दिल्लीबाटै सनाखत गरिएको छ। आज भएका हस्ताक्षरमध्ये ९ जना केन्द्रीय सदस्य एमालेले कार्वाही गरेका सदस्य हुन् भने १४ जना सांसद एमालेले बर्खास्त गरिसकेका सांसदहरु हुन् । यीमध्ये ८ जना सांसद राष्ट्रियसभाका हुन् । प्राविधिक समस्या नआए आजै दल दर्ताको प्रक्रिया टुंगो लाग्न सक्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो ।