काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्नुपर्ने माग राख्दै कांग्रेसको केन्द्रीय कार्यालमा धर्ना दिएका छन् । धर्नामा सहभागीहरुले पार्टी विधानअनुसार क्रियाशील सदस्यतालाई अन्तिम रुप दिनुपर्ने, सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नपर्नेलगायत माग राखेका छन् ।
कांग्रेसको संस्थापनइतर पक्षका जिल्ला सभापतिले आज सो माग गर्दै केन्द्रीय कार्यालयमा धर्ना दिएको पार्टी नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले बताउनुभयो । सो धर्नामा पार्टीका केन्द्रीय नेताहरु अर्जुननरसिंह केसी, डा शेखर कोइराला, रामकृष्ण यादव, कमला पन्त, गगनकुमार थापालगायतले ऐक्यबद्धता जनाउनुभएको थियो ।
यसअघि यही भदौ ५ गते जिल्ला सभापतिका तर्फबाट काभ्रेपलाञ्चोकका सभापति मधु आचार्यले केन्द्रीय सभापति शेरबहादुर देउवालाई पत्रमार्फत सो मागका बारेमा जानकारी गराउनुभएको थियो ।
यसैबीच सोमबार राति कांग्रेसले पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुङग्याइ अन्तिम रुप दिएको छ । क्रियाशील सदस्यतासम्बन्धी बाँकी कार्यसम्पन्न गरी त्यसको प्रतिवेदन पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुुझाइएको छ ।
सभापति देउवाले क्रियाशील सदस्यतामा हस्ताक्षर गरेलगत्तै सो प्रतिवेदन पार्टीको वेवसाइटमार्फत सार्वजनिक गरिने पार्टी कार्यालयले जनाएको छ । सो नामावली पार्टीको केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण भएपछि समितिले यही भदौ १८ गते हुने पार्टीको गाउँ-नगर वडा अधिवेशनका लागि भदौ १० गतेसम्म सबै जिल्लामा पु-याइसक्ने पनि समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिनुभयो ।
पार्टीको १४औँ महाधिवेशनअन्तर्गत गाउँ/नगर वडा अधिवेशन यही भदौ १८ गते, गाउँ/नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते हुनेछ ।