काठमाडौँ । सत्ताधारी दल नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद ज्यँका त्यूँ रहेको छ । भदौ २ गतेभित्र विवाद समाधान गरेर भदौ ३ गते सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने भनिए पनि अझै विवाद सल्टिएको छैन ।
संवैधानिक समयसीमाभित्रै प्रक्रिया सुरु गरेर पार्टीको वैधानिकता जोगाउने निर्णय गरेको कांग्रेसले सदस्यता विवाद नै टुंग्याउन नसक्दा १४ औँ महाधिवेशन फेरि प्रभावित हुने संकेत देखिएको छ । सदस्यता विवाद मिलाउन पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेताहरू मीनेन्द्र रिजाल र रमेश लेखकले प्रयास गरिरहे पनि त्यो सफल हुन सकेको छैन । केन्द्रीय कार्यसमितिको बैठकले भदौ १८ बाट प्रक्रिया सुरु गरी मंसिर ९ देखि १३ गतेसम्म महाधिवेशन गर्ने निर्णय लिएको थियो । राजनीतिक दलको महाधिवेशनका लागि संविधानले तोकेको साढे पाँच महिनाको समय यही भदौ १९ गतेबाट सकिँदैछ ।
क्रियाशील सदस्यता वडा, गाउँ र नगर अधिवेशनका मतदाता हुन्छन् । तीनै सदस्यताबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि क्षेत्र र जिल्लाका मतदाता रहने व्यवस्था छ । क्षेत्रीय प्रतिनिधिले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चुन्ने कांग्रेसको विधानमा उल्लेख गरिएको छ ।
नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवाद समाधान गर्न नसकेकाले कार्यकर्तामा आक्रोश पैदा भएको छ । नेता तथा कार्यकर्ताहरुले क्रियाशील सदस्यता विवाद समाधान गर्न नसकेकोमा सभापति देउवाको चर्को आलोचना गरेका छन् । उनीहरुले सत्तामा अलमलिएर पार्टीको वैधानिकतामाथि नै प्रश्नचिह्नन खडा भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।