बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभाका सांसदहरु अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने चेतावनी दिएको छ । आइतबार सभामुख पूर्णबहादुर घर्तीले उनीहरुलाई कारबाही गर्न नमिल्ने जवाफ दिएपछि एमालेले यस्तो चेतावनी दिएको हो ।
एमालेले दलको ह्वीप उल्लंघन गरेकाले शाही र वलीलाई कारबाही गर्न प्रदेशसभा सचिवालयमा पत्र दर्ता गरेको थियो ।
पत्रकार सम्मेलन गरी एमाले संसदीय दलले सभामुखले संसदीय मूल्य मान्यताविपरीत स्वेच्छाचारी र निरंकुश व्यवहार देखाएको भन्दै सांसद शाही र वलीलाई कारबाही नगरेसम्म संसद चल्न नदिने बताएको हो ।
प्रमुख सचेतक भूमिश्वर ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जबसम्म निज विमलाकुमारी खत्री वली र अजय शाहीलाई प्रदेशसभा सदस्यबाट निष्काशन नगर्दासम्म हाम्रो दलले अगाडि बढाएको संसद अवरुद्ध गर्ने आन्दोलन जारी रहेको यसै विज्ञप्तिमार्फत् जानकारी गराउँदछौं ।’