सिन्धुपाल्चोक । लगातारको वर्षाले मेलम्ची नगरपालिका -८ केउरानीका ३४ घर जोखिममा परेका छन् । पहिरोका कारण खैरेका २७ र छाँयालीका सात घर जोखिममा परेका हुन् ।
स्थानीयवासी कान्छामान दोङका अनुसार पोहोरदेखि नै पहिरो जान थालेका ठाउँमा यसपाली पनि पहिरो आएर खैरेका बस्ती जोखिममा परेका हुन् । निरन्तर पहिरो खस्न थालेपछि स्थानीयवासी त्रसित भएको उहाँले जानकारी दिनुभयो । पटकपटक वडाका प्राविधिकलाई यसबारे जानकारी गराउँदा पनि चासो नदिएकोमा उहाँले असन्तुष्टि जनाउनुभयो ।
वडा नं ८ का वडाध्यक्ष ठकराज गिरीले उनीहरुलाई तत्काल अस्थायी बासको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । यसअघि जिल्ला विपत् व्यवस्थापन समितिलाई जानकारी गराई बस्तीको विज्ञसहित अनुगमन गर्न आग्रह गरिएको तर सुनुवाइ नगरेको उहाँले बताउनुभयो । वडाध्यक्ष गिरीले तत्काल नगरपालिकामा जानकारी गराइ प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था मिलाउन लागिपर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भूगर्भविद्को टोली ल्याई बस्तीको अध्ययन गराउनुपर्ने बताउनुभयो ।
यसैबीच पहिरोले प्रभावित मेलम्ची–६ नेपाने बगरटोलका १७ परिवारलाई राहत वितरण गरिएको छ । स्थानीयवासी भीमसेन थापाको आग्रहमा मेलम्ची–४ थकनी निवासी गरिमा भोएज ट्राभलका सञ्चालक हाल इटालीमा रहेका रवीन्द्र अर्यालमार्फत प्राप्त रु एक लाख १७ परिवारलाई वितरण गरिएको हो । घरवारविहीन, आर्थिक अवस्था कमजोर भएका तथा परिवार सङ्ख्याका आधारमा पीडित घरपरिवारलाई नगर प्रमुख डम्बर अर्यालले राहत हस्तान्तरण गर्नुभयो ।
























