काठमाडौं । आगामी सेप्टेम्बर १३ देखि २० सम्म ओमानमा हुने नेपाल, ओमान र अमेरिका सम्मिलित विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली घोषणा गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको जनाएको हो । जसमा गुल्शन झा पहिलोपटक टिममा पर्दा रोहित पौडेलले पुनरागमन गर्नुभएको बताइएको छ ।
बन्द प्रशिक्षणमा रहेका १९ मध्ये कमल सिंह ऐरी र शहाब आलम भने अन्तिम टोलीमा रहनुभएको छैन । क्यानका अनुसार नेपाली टिम आगामी मंगलबार ओमान प्रस्थान गर्नेछ ।
त्रिकोणात्मक सिरिजअघि नेपालले ओमानमै पपुवा न्युगिनीसँग दुई ओडीआई क्रिकेट म्याच खेल्नेछ ।
नेपाली टोलीमा ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सर्राफ, अविनाश बोहरा, रोहित पौडेल, सुशन भारी, शरद भेषवाकर, विक्रम सोव रहनुभएको छ ।
त्यसैगरी टिम पदाधिकारीमा मुख्य प्रशिक्षक डेभ वाटमोर, व्वयस्थापक मोहम्मद दाउद अन्सारी, टेक्निकल एनालिस्ट रमन शिवाकोटी, फिजियो विक्रम न्यौपाने, ट्रेनर राकेश काशिभाई गोहित हुनुहुन्छ ।