काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद महेश बस्नेतले आफ्नो पार्टीलाई कमजोर बनाउने प्रयास भएको बताउनु भएको छ ।
रिपोटर्स क्लब नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा आफ्नो पार्टीलाई कमजोर बनाउने काममा लागेको बताउनु भयो । तर, एमाले कमजोर पार्ने देउवा, दाहाल र सापकोटा तीनै जनालाई आगामी दिनमा महँगो पर्ने चेतावनी उहाँले दिनुभएको छ ।
नेता बस्नेतले अध्यादेश ल्याउनुको अर्को उद्देश्य भनेको आगामी निर्वाचनमा कांग्रेसलाई बहुमतमा पुर्याउने षड्यन्त्र रचिएको बताउनुभयो । तर आगामी निर्वाचनमा पनि नेकपा (एमाले) नै अत्याधिक बहुमतका साथ आउने उहाँको दाबी गर्नुभयो । ४० महिनाको अवधिमा ओली सरकारले विकास र समृद्धिको यात्रा अघि बढाएको स्मरण गराउँदै उहाँले अहिले ओलीको उक्त समृद्धिको यात्रामा ब्रेक लगाउने काम भएको पनि टिप्पणी गर्नुभयो । उहाँले सभामुखले आफू निश्पक्ष र स्वतन्त्र हुनुपर्ने र त्यहीअनुसार चल्नुपर्ने कुरा भुलेको पनि बताउनुभयो ।
बस्नेतले नेकपा एमाले विधान महाधिवेशन गर्दै जनसंगठन निर्माण र कमिटी निर्माणमा केन्द्रित हुने जनाउनुभयो । माओवादी परित्याग गरी एमालेमा प्रवेश गरको नेताहरुलाई अहिले पनि उचित भूमिका दिईएको बस्नेतको भनाई छ ।