काठमाडौँ । नेकपा एमालेबाट विभाजित भएको माधवकुमार नेपाल समूहको पार्टीको नाम अब नेकपा (एकिकृत समाजवादी) हुने भएको छ । नेपाल समूहले यसअघि नेकपा (एमाले समाजवादी) प्रस्ताव गरेर दल दर्ताको निवेदन दिएको थियो ।
तर अर्को दलसँग मिल्दो नाम राख्न नमिल्ने भएपछि राजेन्द्र पाण्डे लगायतका नेताहरू शुक्रबार निर्वाचन आयोग पुगेर नयाँ नाम नेकपा (एकिकृत समाजवादी) प्रस्ताव गर्नुभएको हो ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार पार्टीको नयाँ नामको निवेदन आइसकेको छ । उहाँले पार्टी दर्ताको प्रक्रिया पुरा भएपछि यसबारेमा आयोगले अन्तिम निर्णय गर्ने बताउनुभयो ।
गत फागुन २३ गते तत्कालीन नेकपाको नामसम्बन्धी विवादमा अदालतले मिल्दोजुल्दो नाम राख्न नमिल्ने फैसला गरेको थियो । त्यसैकारण तत्कालीन एमाले र माओवादी केन्द्रको एकीकरणबाट बनेको नेकपालाई नयाँ नाम छनोट गर्न अदालतले आदेश जारी गरेको थियो ।
तर नेकपाले नयाँ नाम दिएन, त्यसपछि एमाले र माओवादी केन्द्र पुरानै दलका रुपमा कायम भएका थिए ।