काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सचेतक शान्ता चौधरीले सभामुख अग्नि सापकोटा माओवादी कार्यकर्ता भएकाले एमाले सांसदहरुको फेस गर्न नसकेको आरोप लगाउनुभएको छ ।
आज कार्यालय समय सुरु हुनासाथ सभामुख सापकोटालाई भेट्न पुगेका एमाले सांसदहरुलाई भेट नदिएपछि सचेतक चौधरीले यस्तो आरोप लगाउनुभएको हो ।
सभामुखको कार्यालयमा दुई घण्टा कुरे पनि सभामुख नआउनुभएपछि शान्ता चौधरीले फोन गर्नुभएको थियो । फोनमा सभामुख सापकोटाले आफु आउन नसक्ने बताउनुभएको चौधरीले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो- सभामुख हामीसँग फेस गर्न नसकेर भाग्नुभयो, बाहिर–बाहिरै एमालेविरुद्धको षडयन्त्रमा सामेल भएको पुष्टि भएको छ ।’ सभामुखभन्दा पनि बढी पार्टीको भूमिका निभाउनु भएको चौधरीले बताउनुभयो । माओवादीको कार्यकर्ता भएकाले उहाँ नआउनुभएको उहाँको भनाइ थियो ।
संसदीय दलको ह्वीप उल्लंघन गरेर निष्कासनमा परेका माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गरेको सूचना तत्काल टाँस्न माग गदै एमालेका सांसदले सभामुख अग्नि सापकोटालाई २ घण्टा कुरे पनि उहाँ भने कार्यकक्षमा आउनुभएन ।
कार्यालय समय शुरु हुनासाथ एमालेका सांसदहरू सभामुखको कार्यकक्षमा पुग्नुभएको थियो । सचेतक शान्ता चौधरी, खगराज अधिकारी,गोकुल बास्कोटा,कृष्णभक्त पोखरेल,राजेन्द्र गौतम,लालबाबु पण्डित,विमला विश्वकर्मा,गोमा देवकोटा, थममाया थापा,निरु पाल, भगवती न्यौपाने, सूर्य पाठकलगायतका सांसद सभामुखलाई दबाब दिन जानुभएको थियो ।
एमालेले माधव नेपालसहितका १४ सांसदलाई साउन २५ गतेको केन्द्रीय कमिटी बैठकबाट निष्कासन गरेको छ । सो पत्र भदौ १ गते निर्वाचन आयोग र संसद सचिवालयमा पठाइएको छ । कानून बमोजिम संसद नचलेको बेला सम्बन्धित दलले निष्कासन गरेको पत्र सूचना पाटीमा टाँस्नुपर्ने व्यवस्था छ । तर सभामुख सापकोटाले अटेर गर्दै आउनुभएपछि उहाँको तिब्र आलोचना भईरहेको छ । हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सभामुख सापकोटा माओवादीको कार्यकर्ता भएको आरोप लगाउनुभएको थियो । यसअघि माओवादी र जसपाले कारवाही गरेका सांसदलाई सभामुखले तत्कालै पदमुक्त गरेको तर एमालेले कारबाही गरेको पत्र चारदिन बितिसक्दा पनि सुँचना नटाँसेको भन्दै सभामुखको सर्वत्र आलोचना भइरहेको छ ।