काठमाडौं । नेता माधवकुमार नेपाल नेतृत्वको पार्टीको नाममा नेकपा एमाले राख्न नपाइने भएको छ ।
एमाले विभाजन गरेका नेता नेपालले आफ्नो नेतृत्वमा नेकपा एमाले समाजवादी दर्ताका लागि बुधबार निवेदन दिए पनि पार्टीको नाममा एमाले राख्न नपाइने भएको छ । राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार नियमावली बिहीबारमात्र आएकाले नेपाल पक्षले शुक्रबार फेरि नयाँ पार्टी दर्ताका लागि निवेदन दिने तयारी गरेको छ ।
राजनीतिक दलसम्बन्धी अध्यादेश बिहीबारमात्र आएको र त्यसको अघिल्लो दिन एमाले समाजवादीका नेता डा. विजय पौडेल निर्वाचन आयोग पुग्नुभएको थियो । आयोगका अधिकारीहरुले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने बताएका छन् । पौडेलले नेकपा एमाले समाजवादी नभए नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी राख्न मिल्छ त भनेर समेत सोध्नुभएको थियो ।
नेपाल समूहका नेताहरुले नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी वा नेपाल कम्युनिस्ट पार्टी समाजवादी नाममा पार्टी दर्ता हुने बताएका छन् ।