काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटेको नभई एउटा सानो चोइटो उछिट्टिएको मात्रै हो भन्नुभएको छ । उहाँले सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई पार्टी नफुटेको तर केही मानिस मात्र एमालेबाट अलग भएको बताउनुभयो ।
न्यूज एजेन्सी नेपालसँगको भिडियो अन्तर्वार्ताका क्रममा अध्यक्ष ओलीले एमाले विभाजित नभएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘पार्टी विभाजन हुनु र टुक्रिनु फरक कुरा हुन्, एमाले फुटेकै छैन, एउटा सानो चोइटो उछिट्टिएको मात्रै हो ।’
अध्यक्ष ओलीले नेता नेपाललाई एमालेबाट बाह्य शक्तिले फुटाइदिएको बताउनुभयो । उहाँले नेता नेपालको विवेक अनुसार नेकपा समाजवादी दर्ता गरेर अध्यक्ष हुन गएको पनि टिप्पणी गर्नुभयो । नेता नेपाललाई एमालेबाट कुनै हालतमा निकाल्ने शक्ति सक्रिय भएको उहाँले बताउनुभयो ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले एउटा चुम्बकका दुई ध्रुव एकै ठाउँ बस्न नसक्ने बताउनुभयो । ‘एकै चुम्बकका दुई ध्रुव सँगै आउन सक्दैनन् । एमालेमा पनि यस्ता पोल एकै ठाउँ ल्याइएको हो’, उहाँले भन्नुभयो, ‘धेरै शक्ति मिलेर यस्तो अवस्था ल्याउँछन् । नेता नेपाललाई एमालेबाट निकाल्ने शक्ति लागेपछि उनको पनि केही नलागेपछि चोइटिएका हुन्।’
एमालेलाई एक बनाउन आफूले कयौँ कोसिस गरेको उहाँले बताउनुभयो । ‘मैले पार्टी बचाउन कयौँ कोसिस गरेको थिएँ’, उहाँले भन्नुभयो, ‘मैले ५१ वर्ष पहिलेदेखि नै पार्टी एकता थालेर शक्तिशाली नेकपा पनि बनाएकै हो।’ एमाले एकता बचाउन नेता नेपालसँग संवादका लागि भेट्न खोज्दा नेपालले इन्कार गरेको रहस्य उहाँले खोल्नुभयो ।
‘एमाले एकता बचाउन भेटौँ भन्दा उनले भेट्नै मानेनन्’, उहाँले भन्नुभयो, ‘बितेका दुई वर्षयता उनले मलाई एक पटक पनि फोन गरेको थाहा छैन । प्रधानमन्त्री निवासमा पनि नआएपछि म आफैँ उनले चाहेको ठाउँमा पुगेर कुरा गरेकै हो।’
अध्यक्ष ओलीले एमालेमा कुनै किसिमको विवाद नभएको बताउनुभयो । एमालेमा कुनै किसिमको अन्तरकलह नभएको तर नेपालले मात्रै निहुँ खोजेको बताउनुहुँदे उहाँले एमाले नफुटेको तर नेपाल चोइटिएर अलग भएको बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘एकाध ठाउँ भत्काउने, इँटा खुस्काउने गर्न सक्लान् । तर त्यो टाल्न सकिन्छ, अपूरणीय क्षति होइन, भवन नै ध्वस्त हुने क्षति होइन ।’