काठमाडौँ । निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएको जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले पार्टीको आगामी रणनीति बनाउन परामर्शमा जुटेको छ ।
जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि दलविहीन बनेका ठाकुर पक्षले बुधबार जसपा (लोकतान्त्रिक) नाम राख्दै दल दर्ताका लागि निवेदन दिएको थियो । नयाँ परिस्थितिमा पार्टीलाई कुन ढंगले अघि बढाउने भन्नेबारे आगामी रणनीति बनाउन जसपा ठाकुर पक्षका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् ।
परिवर्तित अवस्थामा पार्टीको आगामी रणनीति बनाउन नेताहरू आन्तरिक परामर्शमा रहेको जसपा ठाकुर पक्षका नेता केशव झाले बताउनुभयो । उहाँले निर्वाचन आयोगले आफ्नो प्रक्रिया पुर्याएर दल दर्तालाई औपचारिकता दिउञ्जेल पार्टीको आगामी कार्यदिशाबारे आपसी परामर्शमा नेताहरू क्रियाशील रहेको जानकारी दिनुभयो ।
निर्वाचन आयोगले ऐनअनुरुप नियमावली बनाउनुपर्ने हुन्छ । त्यसपछि मात्रै दल दर्ताको प्रक्रिया अघि बढ्छ । आयोगमा निवेदन दिएका नयाँ दलको दर्ताको औपचारिकताका लागि कम्तीमा २५ दिनजति समय लाग्ने बताइएको छ । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएलगत्तै ठाकुर पक्षका नेताहरुले नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन् । सो पार्टीको आयोगमा दर्ता नं ४३४ रहेको छ ।
जसपा लोकतान्त्रिकको अध्यक्षमा महन्थ ठाकुर तथा वरिष्ठ नेतामा राजेन्द्र महतो रहनुभएको छ । सो दलमा अध्यक्ष र वरिष्ठ नेतासहित २४ सदस्यीय कार्यकारिणी समिति प्रस्ताव गरिएको छ । तीमध्ये रेशम चौधरीसहित १५ जना सांसद छन् । ठाकुर पक्षले नयाँ दलको चुनाव चिन्हमा साइकल प्रस्ताव गरेको छ । सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने गरी अध्यादेश ल्याएको हो ।