काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टी एकढिक्का बनाउने सवालमा भएका समझदारीलाई कुल्चेर एक–दुईजना पार्टीबाट बाहिरिँदैमा एमालेलाई समाप्त पार्ने योजना सफल नहुने बताउनुभएको छ । उहाँले नेता माधव नेपाल एमालेबाट अलग भएर नयाँ दल दर्ताका लागि निवेदन दिएपछि सामाजिक सञ्जालमार्फत् यस्तो धारणा सार्वजनिक गर्नुभएको हो ।
उहाँले एमालेमा आएको विभाजनलाई ‘अदृश्य शक्तिहरूको कुत्सित चाहना पूरा गर्ने काम’ भनेर समेत टिप्पणी गर्नुभएको छ ।
‘पार्टीलाई एकढिक्का बनाउन यसबीचमा बनाइएका समझदारी र प्रस्तुत गरिएको लचकतालाई समेत कुल्चेर अदृश्य शक्तिहरूको कुत्सित चाहना पूरा गर्ने काम गरिएको छ’ सामाजिक सञ्जालमा उहाँले उल्लेख गर्नुभएको छ ।
उहाँले धैर्यता नगुमाउन एमालेका नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई अपिल गर्दै भन्नुभएको छ, ‘यो गतिशील पार्टीबाट कोही बाहिरिंदैमा एमालेलाई समाप्त पार्ने योजना सफल हुने छैन ।’