काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले माधवकुमार नेपालले पार्टी विभाजन प्रक्रिया अगाडि बढाएर राजनीतिक नेतृत्व गुमाएको बताउनुभएको छ । माधवकुमार नेपाल समूहले नयाँ दल नेकपा एमाले समाजवादी दर्ताका लागि बुधबार निर्वाचन आयोगमा निवेदन दिएपछि भट्टराईले यस्तो टिप्पणी गर्नुभएको हो ।
उहाँले नेता नेपाललाई उनकै समूहका नेताहरुले साथ नदिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘ठूलो पंक्तिले माधव नेपाललाई छाडेका छन् । यसले के प्रमाणित गर्छ भने उनीसँग त्यस्तो ठोस राजनीतिक एजेण्डा छैन ।’
उहाँले राजनीतिक दलको नेतृत्व बन्नका लागि ठोस राजनीतिक एजेण्डा हुनुपर्ने बताउनुहुँदै माधव नेपाल प्राविधिक र प्रशासनिक क्षेत्रको नेता जस्तो भएको टिप्पणी गर्नुभयो ।
राजनीतिक एजेण्डा बोक्न नसकेकै कारण नेपालले आफू स्थापित हुनका लागि पार्टी विभाजनको प्रक्रिया अगाडि बढाएको नेता भट्टराईले बताउनुभयो ।